नितु घले शुक्रवार, कात्तिक १७, २०७४

हेल्थ एन्ड कफी
मानसिक अस्पताल, लगनखेलमा साइक्यासटिकका रूपमा कार्यरत डाक्टर लता गौतमले कफीकै कारण बिरामी भएर आएका कुनै पनि बिरामी अहिलेसम्म फेला पारेकी छैनन्। भन्छिन्, ‘कफी पिउनु साधारणतः राम्रो मानिन्छ। तर, कति पिउने भन्ने कुरा महत्वपूर्ण हुन्छ।’ एउटा लिमिटेसन बनाएर कफी पिउनु स्वास्थ्यका लागि फाइदाजनक भएको उनी बताउँछिन्। गौतमका थुप्रै बिरामी कफीबारे विभिन्न खालका धारणा लिएर आउने गर्छन्। कसैले कफीले शरीरलाई सक्रिय बनाउँछ भन्नेमा विश्वास गरेका हुन्छन्, कसैले काम गर्ने बेला कफी पिउनाले एकाग्रता बढाउँछ भन्नेमा विश्वास गरेका हुन्छन्।
उनका अनुसार सामान्यतः दिनको दुई कप कफी पिउनु उत्तम मानिन्छ। त्योभन्दा धेरै कफी पिउन थालियो भने त्यो विस्तारै लतमा बदलिन्छ। भन्छिन्, ‘धेरै कफी पिउने बानी भएका मान्छले कफी पिउन पाएन भने इरिटेसन महसुस गर्छ।’ टाउको दुखेजस्तो हुनु, काममा मन नलाग्नु, शरीरमा केही कुराको अपुग हो कि जस्तो महसुस गर्नु कफी-लतको कारण भएको गौतमले बताइन्।
स्वाद आआफ्नै हुन्छ। तर, दूध भएको कफीले मोटोपना बढाउँछ। फिगर कन्ससका लागि कालो कफी नै राम्रो हितकर भएको गौतम बताउँछिन्।
गौतमका अनुसार चाँडै ग्यास्ट्रिक हुने, पेटको समस्या भएकाका लागि कफी खास राम्रो मानिँदैन। गर्वभतीले त कफी पिउनै हुँदैन। यसले पाठेघरमा स्टिमुलेट गराउँछ।
दुई कपसम्म कफीले शरीरलाई कुनै बेफाइदा गर्दैन।
स्वास्थ्य मन्त्रालयमा कार्यरत डाक्टर वासुदेव पाण्डे पनि कफी रिल्याक्सेसनको लागि खाइने कुरामा विश्वास गर्छन्। भन्छन्, ‘कफीले पारिखमा एक खालको एडिक्सन ल्याउँछ।’

के भन्छ अध्ययन ?
इन्टरनेसनल एजेन्सी फर क्यान्सर रिसर्चर, मार्क गुन्टेरको अध्ययनलाई उद्धृत गर्दै गार्जियन पत्रिकाले लेखेको छ, ‘कफी पिउनेहरू स्वस्थ्य हुन्छन्। कफी सेवनले हृदयाघात, फोक्सोको समस्याबाट पनि बचाउँछ। शरीरमा आउनसक्ने विभिन्न खालका आक्रमणबाट जोगाउन सहयोग गर्छ। कफी घातक हुँदैन।’
संसारका विभिन्न स्थानमा गरिएका अध्ययनअनुसार, दैनिक दुई कपसम्म कफीले कुनै बेफाइदा गर्दैन। दैनिक कम्तीमा एक कप कफी पिउने बानीले १२ प्रतिशत मृत्युदर घटाउने र तीन कप खानेहरूको १८ प्रतिशत मृत्युदर कम गराउने अध्ययनले देखाएको छ।
युनिभर्सिटी अफ साउथेन क्यालिफोर्नियाका एसोसिएट प्रोफेसर भेरोनिका सेटिवानले केही बिरामीमा गरेको अध्ययनअनुसार क्यान्सर, श्वासप्रश्वास, डायबिटिज, किड्नी रोगीका लागि कफी पिउँदा फाइदा हुन्छ।
यस्ता छन् कफी पिउनुका फाइदा
-शारीरिक रूपमा सक्रिय बनाउँछ।
-रिल्याक्स महसुस गराउँछ।
-काममा एकाग्रता ल्याउँछ।
-मानसिक तनाव कम गर्छ।
-मोटोपना कम गर्छ।
-शरीरलाई गर्मी गराउँछ र चिसोबाट बचाउँछ।
-चिसोले शरीर फुल्ने समस्याबाट जोगाउँछ।

http://annapurnapost.com/news-details/83348

Latest Posts