काठमाडौं । नेपाली कफी अन्तर्राष्ट्रिय क्षेत्रमा मुलुकको इज्जत जोगाउन सफल भएको छ। विश्वभर उत्पादन हुने कफीको गुणस्तरसम्बन्धी सूचकांकका आधारमा घोषणा गरिने उत्कृष्टतामा यो वर्ष नेपाली कफीले ९० अंक प्राप्त गरेको छ। पहिलोपटक नेपाली कफी संसारभरका उत्पादनलाई उछिन्दै उच्च अंक प्राप्त गर्न सफल भएको हो।
विश्वभरका कफीको गुणस्तर र बजारीकरणका विषयमा निगरानी राख्दै आएको ‘कफी रिभ्यु डट कम’ ले यो वर्ष नेपाली कफीलाई ९० अंक प्रदान गरेको छ। यो अंकले नेपाली कफी उत्पादनकर्ता, प्रशोधनकर्ता, बिक्रेता र निर्यातकर्तालाई ठूलो उत्साह मिलेको छ। नेपालले सन् २०१२ देखि नै उच्च अंक प्राप्त गर्न परि श्रम गर्दै आएको थियो।
कफी उत्पादन हुने विश्वभरका मुलुकको सूचीमा नेपाल पर्दैन। तर, पनि नेपालले उत्कृष्ट स्वाद र गुणस्तरको कफी उत्पादन गरेर विश्व कफीबजारलाई चकित बनाएको छ। कफी रिभ्यु डट कमले विश्वभरबाट आउने कफीको नमुना उत्पादनदेखि प्रशोधनसम्मको सूक्ष्म प्रविधि र कफीको गुणस्तर, बास्ना, एसिडिटी र स्वादलाई आधार बनाएर यस्तो अंक प्रदान गर्दै आएको छ।
अत्यधिक परिमाणमा कफी उत्पादन गरी ठूलो निर्यातकर्ता मुलुकको रूपमा गनिएका दुई छिमेकी मुलुक भारत र चीनको कफीले नेपाली कफीसँग यो वर्ष प्रतिस्र्पधा गर्न सकेन। भारतको कफीले सन् २०११ मा ८७ देखि ९२ सम्म र २०१६ मा ८९ अंक प्राप्त गरेको थियो। यस्तै चीनको कफीले सन् २०१७ मा ९१ देखि ९५ अंक र सन् २०१६ मा ९१ देखि ९५ अंक प्राप्त गरेको थियो। एसियाली मुलुकमध्ये इण्डोनेसियाले सबैभन्दा बढी ९७ अंक प्राप्त गरेको छ।
यो वर्ष पनि संसारभरका कफी उत्पादनकर्ता, प्रशोधनकर्ता, बिक्रेता र निर्यातकर्ताले आफ्नो कफीको गुणस्तरीयताको बारेमा स्कोरिङ प्रतिस्र्पधामा सहभागी भएका थिए। यो स्कोरिङ प्रतिस्र्पधामा नेपालका तर्फबाट नुवाकोटको मदनपुरस्थित लेकाली कफी इस्टेटले सहभागिता जनाएको थियो।
लेकाली कफी इस्टेटका सञ्चालक निमा तेन्जिङ शेर्पाले एक हजार एक सयदेखि एक हजार तीन सय ५० मिटरको उचाइमा फलाएको र वैज्ञानिक रूपमा प्रशोधन गरिएको कफीको नमुना उक्त कफी रिभ्यु डट कममा पठाएका थिए। समग्र नेपालको प्रतिनिधित्व गर्दै शेर्पाले पठाएको नमुना कफीले ९० अंक प्राप्त गरेको हो। शेर्पाले अत्याधुनिक प्रविधिको प्रयोग गरी कफीखेती र प्रशोधन गर्दै आएका छन्।
राष्ट्रिय चिया तथा कफी विकास बोर्डले मंगलबार कार्यक्रम आयोजना गरी नेपाली कफीले उत्कृष्ट अंक प्राप्त गरेको सार्वजनिक गरेको छ। बोर्डका निर्देशक दिपक खनालले नेपालमा उत्पादन भएको कफीले विश्वस्तरमै ९० अंक प्राप्त गरी अन्तर्राष्ट्रिय जगतमा मुलुककै शान बनाएको बताए।
वाणिज्य मन्त्रालयका टीपीएसडी आयोजनाका सल्लाहकार बद्री बस्ताकोटीका अनुसार यसअघि नेपालको हिमालयन अरेबिकाले २०१६ मा ८९, २०१५ मा ८५, २०१३ मा ८४ र २०१२ मा ८१।५ अंक प्राप्त गरेको थियो। अन्तर्राष्ट्रिय बजार पाउन कम्तीमा ८० अंकभन्दा बढी अंक प्राप्त गर्नुपर्छ।
‘यो हाम्रा लागि गौरबको विषय हो,’ खनालले भने,‘नेपालमा उत्पादन हुने कफी पनि विश्वस्तरको हुन सक्छ भन्ने हत्ववपूर्ण सन्देश अन्तर्राष्ट्रिय जगतमा दिन सफल भएको छ।’ आगामी दिनमा दिनमा कफीको गुणस्तरलाई थप प्रभावकारी बनाएर प्राप्त भएको अंकको रेकर्ड तोड्न थप गृहकार्य गर्नुपर्ने सुझाव खनालले नेपाली उत्पादनकर्ता, प्रशोधनकर्ता, बिक्रेता र निर्यातकर्तालाई दिए।
ग्रिन ल्यान्ड अर्गानिक फार्मका निर्देशक तथा नेपालको क्यु ग्रेडर डा. राजकुमार बन्जाराका अनुसार भारत र चीनले विश्व बजारमा कफीको बजार विस्तार गरिरहँदा नेपालले मौलिक स्वाद कायम राख्दै उच्च गुणस्तरको कफी उत्पादन गरेको खण्डमा कफीको अन्तर्राष्ट्रिय बजारमा थोरै भए पनि महत्ववपूर्ण हिस्सा ओगट्न सफल हुन सक्छ। कफीको विश्व बजारमा चीन १३ औं स्थानमा आउँछ। यस्तै भारत सातौं स्थानमा आउँछ।
हिमालयन अरेबिका ब्रान्डमा कफीको प्रशोधन र बजारीकरण गरिरहेका बन्जाराका अनुसार चीनले बर्सेनि एक लाख १६ हजार आठ सय २० मेट्रिक टन र भारतले तीन लाख ४८ हजार मेट्रिक टन कफी निर्यात गर्दै आएको छ। चीनले सन् २०२२ सम्ममा उत्पादन वृद्धि गरी मुख्य निर्यातकर्ता मुलुकका रूपमा आफूलाई अगाडि बढाइरहेको छ भने भारतले अरेबिका जातको कफीको उत्पादनमा सामान्य वृद्धि गर्ने लक्ष्य राखेको छ।
यसरी अंक प्रदान गरिन्छ
कुनै पनि मुलुकका कफी उत्पादनकर्ता र प्रशोधनकर्ताले सजिलै कफी रिभ्यु डट कमबाट स्कोरिङ पाउँदैनन्। कफी रिभ्यु डट कमले स्पेसलिटी कफी एसोसिएसन अफ अमेरिकाले कफीसम्बन्धी तयार पारेको मापदण्डको आधारमा मात्रै मुलुकभरका कफीलाई स्कोरिङ प्रदान गर्दै आएको छ।
क्यु ग्रेडर बन्जाराका अनुसार अमेरिकाले प्रदान गरेको अनुमतिप्राप्त तीन जना क्यु गे्रडरले कफीको तीन चरणमा परीक्षण गर्छन्। पहिलो चरणको ग्रिन विन्सको गुणस्तरसम्बन्धी करिब १६ वटा प्यारामिटर परीक्षण हुन्छ। त्यसपछि दोस्रोमा विभिन्न प्रक्रियाबाट प्रशोधन तथा रोस्ट गरिएका रोस्ट कफीको परीक्षण र अन्तिममा तयार पारिएको कफीको चुस्की लिएर बास्ना, स्वाद, एसिडिटी र गुणस्तरसम्बन्धी प्यारामिटरको आधारमा सम्बन्धित मुलुकको कफीलाई अंक प्रदान गर्ने व्यवस्था छ।
२१ चैत, २०७४, अन्नपूर्ण पोष्ट
Latest Posts
There are many different ways to brew a good cup [...]
According to the Specialty Coffee Association of Europe (SCAE), Speciality [...]
“Excellent 86 ” – Loren, Coffee Agent, Norway (2014 September)
Excellent Beans, Outstanding Aroma – Nick Nichols, USA
“Didn’t Stand Out…” – Ian, Minneapolis, USA (2013 July)
- Published On: April 17, 2013|0 Comments on Nice Coffee, 84 Points – Mike Perry, Roaster of the Year, USA|
“Nice Coffee, 84 Points ” – Mike Perry, Roaster of the [...]
(2012 February)
2012 February