– लालप्रसाद शर्मा, माधव अर्याल – कान्तिपुर फाल्गुन ६, २०७३
नेपालमै पहिलो पटक गुल्मी आँपचौरका हीरा गिरीले विसं १९९५ मा बर्माबाट केही कफीका बिरुवा ल्याई रोपेका थिए । त्यसपछि फाट्टफुट्ट लगाउन सुरु गरिएको कफी ४१ जिल्लामा विस्तार भइसकेको छ । कफी अन्य बालीको तुलनामा ५/६ गुना बढी फाइदा दिने नगदेबाली हो । नेपालको पहाडी भेगमा उत्पादित अर्गानिक कफीको विदेशमा उच्च माग रहेकाले पनि विदेशी मुद्रा आर्जनको एउटा गतिलो माध्ययम बन्दै गएको छ । एक पटक रोपेपछि वर्षौंसम्म फल दिने कफीलाई किसानको पेन्सन पनि भन्न थालिएको छ । यहाँ कफी खेती कसरी गर्ने भन्ने जानकारी दिने प्रयासमा छौं ।
कफी नै किन रोज्ने ?
नेपालको ८ सयदेखि १६ सय मिटरसम्मको उचाइमा विशिष्ट श्रेणीको कफी उत्पादन हुने गर्छ । यो उचाइमा अरेबीका प्रजातिअन्तर्गत विभिन्न ३१ जातका कफी लगाउन सकिन्छ । तराईको ७० देखि ५ सय मिटर उचाइसम्म रोबुस्टा नामको कफी लगाउन सकिन्छ । तर, रोबुस्टामा क्याफिनको मात्रा बढी अर्थात् ४ दशमलव ५ प्रतिशत हुने भएकाले त्यसको माग नहुने भएपछि लगाइएको छैन । ८ सयदेखि १६ सय मिटरसम्मको उचाइमा हुने कफीमा क्याफिन (स्फूर्ति दिने तत्त्व) को मात्रा शून्य दशमलव ९ देखि १ दशमलव ७ प्रतिशतसम्म मात्रै हुने भएकाले यसको उच्च माग छ ।
विश्व बजारमा नेपालको अरेबिका जातको कफीको माग वार्षिक ८ हजार टनसम्म छ । तर, नेपालभरि जम्माजम्मी ४ सय ३४ टन मात्रै उत्पादन हुन्छ । अन्य फलफूल तथा तरकारीजस्तो टिप्नसाथ बजारमा नलगे वा उपभोग नगरे कुहिने डर कफीमा हुँदैन । टिपेको एक वर्षसम्म राम्रो मानिए पनि २/३ वर्षसम्म यसलाई भण्डारण गरी राख्न सकिने भएकाले कफी खेतीको भविष्य छ । कफीसँगै केरा, बेसार, मौरी र पशुपालनसमेत गर्न सकिने भएकाले थप आम्दानी हुन्छ ।
राष्ट्रिय चिया तथा कफी विकास बोर्ड क्षेत्रीय कार्यालय पोखराका कृषि विकास अधिकृत चन्द्र पुरीका अनुसार नेपालको ४२ प्रतिशत मध्यपहाड क्षेत्रको ११ लाख हेक्टरमा कफी लगाउन सकिने भए पनि हाल जम्मा २६ सय १८ हेक्टरमा मात्रै यो विस्तार भएको छ । उत्तर–पूर्व, केही पश्चिम मोहडा भएको जग्गा पानी नजम्ने भिरालो पाखो तथा बारीमा कफी खेती गर्न सकिन्छ । एक रोपनीमा सय बोट लगाउन सकिने र एउटा बोटबाट वार्षिक १० केजीसम्म उत्पादन हुने गर्छ । २० वर्षसम्म बढी उत्पादन र बोटको उचित स्याहार–सुसार र हेरचाह भएमा ४० वर्षसम्म कफी फल्ने भएकाले यसलाई किसानको पेन्सन भनिएको हो । विश्वमा पेट्रोलियम पदार्थपछि बढी कारोबार हुने भएको खैरो सुन पनि यसलाई भन्ने गरिन्छ । यसैले पनि कफी खेतीमा लाग्ने आधार प्रशस्त देखिन्छ ।
अनुदान
कफीको बिरुवालाई राष्ट्रिय चिया तथा कफी विकास बोर्डले ५० प्रतिशत अनुदान दिन्छ । बीउ लगेर ब्याड राखेमा शतप्रतिशतै अनुदानको व्यवस्था छ । बेर्ना हेर्दा सर्लक्क परेको, चिल्ला (गाढा हरियो) कम्तीमा १२ वटा पात भएको, १ फिट उचाइको, रोग कीरा नलागेको, ५ इन्च चौडाइ र ७ इन्च गहिराइको पोलपटमा उत्पादन, सिसाकलम साइजको बेर्नालाई गुणस्तरीय मानिन्छ । बीउको हकमा रोगकिरा नलागेको, ८ देखि १२ वर्षको बोटबाट (नियमित काटछाँट) टिपेर प्रशोधन गर्नुपर्छ । १५–२० प्रतिशत चिस्यान भएको बीउ ब्याडमा रोप्नका लागि उपयुक्त हुन्छ । एक केजी बीउबाट ३५ सय बिरुवा उत्पादन हुन्छ । बोट लगाएको ३ वर्षदेखि कफीले फल दिन थाल्छ ।
यसरी रोप्नुपर्छ
सिँचाइ पर्याप्त भएमा ८/१० महिनाको बिरुवा चैतमै रोप्न सकिन्छ । नभए असार साउनमा १२/१४ महिनाको बिरुवा रोप्न पाइन्छ । एक हात गहिरो खाडलमा ५ केजी कुहिएको गोबर या कम्पोस्ट मल, सयदेखि दुई सय ग्राम कृषि चुन, दुई सय ग्राम निमको पिना या खरानी राखेर २ मिटरको फरकमा रोप्नुपर्छ । रोप्ने स्थानमा एक वर्षअगाडि नै छहारी बिरुवा लगाउनुपर्छ । कफीलाई छहारी आवश्यक पर्छ । त्यसैले तत्कालीन छहारीका लागि छाप्रो हाल्ने, जुटको बोराले छोप्ने, अस्थायीका लागि इपिलइपिल, शीतलचिनी, फलेरा, केरा, किम्बु, अनार, सुन्तलाका बोट भए हुन्छ । स्थायी छहारीका लागि कटुस, टिक, बडहर, कटहर, लिची, आँपजस्ता दोहोरो आम्दानी हुने खालका डालेघाँस तथा फलफूलका बोट लगाउँदा उपयुक्त हुन्छ । ५० देखि ६० प्रतिशत बढी घाम कफीको बोटमा छिर्न दिन हुँदैन ।
रोग र निराकरण
कफीको मुख्य शत्रु भनेको सेतो गबारो हो । पछिल्ला दिनमा देशका विभिन्न स्थानमा सिन्दुरे रोग पनि महामारीको रूपमा देखिएको छ । छहारी कम हुने, बढी पहारिलो भएमा गबारोले डाँठमा फुल पार्ने, लार्भा बनेर गुदी खाँदै जरासम्म पुग्छ । पात पहेंलो हुने, तान्नासाथ भाँचिने, फल सानो हुने गर्छ । उता बढी पानी पर्ने सिजन, ओसिलो वातावरण, २१ देखि २४ डिग्री तापक्रममा सिन्दुरे देखिएको छ । यो हावापानी, मानिस र जनावरका माध्यमबाट पनि सर्ने गर्छ । पातको पछाडिपट्टि पहेंलो धब्बा (सुन्तला रंग) देखिने, पात सबै झरेर रूख नांगै हुने, अर्को वर्ष कम फल लाग्ने र बोटै मर्ने हुन्छ । कफीको दानामा सीधा घाम परेमा बेरी ब्लच रोग लाग्न सक्छ । यसो भएमा फल कुहिन्छ । नर्सरीमा बढी चिसो भएर पातको खैरो धब्बा लाग्न सक्छ । सेतो गबारोले (चैत–वैशाख र असोज–कात्तिक) मा बोक्रामा फुल पार्ने भएकाले जुटको बोराले डाँटमा रगडेर चिल्लो बनाउने । यसले फूल पार्ने ठाउँ नहुने र पारिसकेको भए पनि फूल खस्छ ।
पहारिलो मन पराउने भएकाले छहारीको पर्याप्त व्यवस्था गर्नुपर्छ । फुल पारिसकेको भए १० प्रतिशत चुनाको झोल बनाएर डाँठमा छर्कन वा लेप लगाउन सकिन्छ । मदानी पासो राखेर गबारोको भालेलाई आकर्षित गरी नियन्त्तण गर्न सकिन्छ । जैविक विषादी बनाएर वर्षमा ४/५ पटक छर्किने र गवारो लागिसकेमा बोट काटेर जलाउनुपर्छ ।
यसैगरी सिन्दुरे लागिसकेपछि कुनै नियन्त्रण सम्भव छैन । रोग नलाग्दै व्यवस्थापन गर्नुपर्छ । यसका लागि नीलोतुथो र चुनको घोल (बोडो मिश्रण) बनाएर वर्षमा कम्तीमा ३ पटक छर्नुपर्छ । पानी पर्नुअघि जेठ–असार, पानी परेर रोकिएपछि भदौ–असोज र फूल खेल्ने बेला फागुन–चैतमा छर्नुपर्छ । बगैंचा व्यवस्थापनमा ध्यान दिनुपर्छ । ओसिलो अर्थात् चिसोमा फैलिने भएकाले नियमित काटछाँट, सरसफाइमा ध्यान दिनुपर्छ । सिन्दुरे लागेको ठाउँबाट अन्यत्र बिरुवा लगेर रोप्न हुदैन । रोगप्रतिरोधी सान रोमन, केटिसिक र क्याटिमोर जातका कफी लगाउन सकिन्छ ।
मूल्य कस्तो छ त ?
बोटमा ५ प्रतिशत जति रातो चम्किलो दाना भएपछि कफी टिप्न सकिन्छ । यसलाई फ्रेस चेरी भनिन्छ । बोर्डले यसको मूल्य ‘ए’ ग्रेडको भए प्रतिकेजी ८३ र ‘बि’ ग्रेडकोलाई ७८ रुपैयाँ तोकेको छ । फ्रेस कफीलाई २४ घण्टाभित्र ‘पल्पिङ’ गर्नुपर्छ । ‘पल्पिङ’ गरेपछि छुट्टिने दानाको चिल्लो पदार्थ हटाउन २४ देखि ४८ घण्टासम्म गुम्साएर राख्नुपर्छ । सफा पानीले पखालेपछि पार्चमेन्ट कफी बन्छ । यसको प्रतिकेजी ‘ए’ ग्रेडको ४१५ र ‘बी’ ग्रेडको ४ सय रुपैयाँ तोकिएको छ । पार्चमेन्ट कफीलाई सुकाएर हलिङ (बोक्रा फाल्ने) गरेपछि ग्रिनविन कफी (खानयोग्य) बन्छ । यसको प्रतिकेजी ८५० रुपैयाँ पर्छ । ६ किलोको फ्रेस चेरीबाट एक किलो ग्रिनविन बन्छ ।
कसरी बिक्री गर्ने
उत्पादन भएको कफी स्थानीयस्तरमा सहकारीले सञ्चालन गरेको पल्पिङ सेन्टरमा पुर्याउन सकिन्छ । आफैं पल्पिङ गरेर पार्चमेन्ट बनाउन सकिन्छ । सहकारीले जिल्लाभरको कफी संकलन गरी केन्द्रमा पठाउँछ । आफैंले सीधै व्यापारीलाई पनि बिक्री गर्न सकिन्छ । उत्पादन गर्न सके बजारको कुनै समस्या छैन ।
नेपालबाट बढी मात्रामा जापान, कोरिया, सिंगापुर, अमेरिका र युरोपेली देशहरूमा कफी निर्यात हुँदै आएको छ । हामीले बाहिरबाट केमिकल मिसाएको कफी आयात गरी खाइरहेको राष्ट्रिय चिया तथा कफी विकास बोर्ड क्षेत्रीय कार्यालय पोखराका कृषि प्राविधिक देवेन्द्र पौडेल बताउँछन् । आर्थिक वर्ष ०७२/७३ मा १० करोड ८ लाख रुपैयाँ बराबरको १ सय १२ टन कफी निर्यात भएकोमा ५ करोड ५६ लाख मूल्य बराबरको कफी आयात भएको थियो । निर्यातमा हालसम्म कुनै अवरोध छैन ।
दर्ता प्रक्रिया
बोर्डमा दर्ता गर्दा अनुदान पनि पाइन्छ । कफीको बगैंचा (मात्रा) अनुसार २० रुपैयाँदेखि ३ हजार रुपैयाँसम्म तिरेर प्रमाणपत्र लिए पुग्छ । साना किसानदेखि निर्यातकर्तासम्मको रकम हो यो । संस्था वा व्यक्तिको निवेदन, परिचय खुलेको विवरण, अन्यत्र दर्ता गरेको भए प्रमाणपत्र ल्याए हुन्छ । बीउमा शतप्रतिशत र बेर्नामा ५० प्रतिशत अनुदान छ । प्राविधिक तालिम, अध्ययन भ्रमणलगायत सहयोग पनि मिल्छ । ठूलो बगैंचा स्थापना गरेमा कृषि, घरेलुमा दर्ता गर्न सकिन्छ । यसका लागि ठूलो आर्थिक भार पर्दैन ।
http://kantipur.ekantipur.com/printedition/news/2017-02-17/20170217094804.html
Latest Posts
- Published On: February 20, 2015|0 Comments on Brand registration expected to boost Nepal coffee exports|
Nepal has registered the Nepal Coffee collective trademark for Nepali [...]
- Published On: February 17, 2015|0 Comments on Dealers / Resellers Wanted for HimalayanArbica Specialty Coffee|
Himalayan Arabica Coffee is looking for dealers and resellers for [...]
Sidhuli, a part of Janakpur Zone of Nepal with the [...]
According to the Specialty Coffee Association of Europe (SCAE), Speciality [...]
There are many different ways to brew a good cup [...]
“Excellent 86 ” – Loren, Coffee Agent, Norway (2014 September)
Excellent Beans, Outstanding Aroma – Nick Nichols, USA
“Didn’t Stand Out…” – Ian, Minneapolis, USA (2013 July)
- Published On: April 17, 2013|0 Comments on Nice Coffee, 84 Points – Mike Perry, Roaster of the Year, USA|
“Nice Coffee, 84 Points ” – Mike Perry, Roaster of the [...]
(2012 February)
2012 February