राजेश बर्मा,अन्नपूर्ण विशेष, २० बैशाख २०७६
देशभरबाट उत्पादकहरूले पठाएका कफीको नमुनालाई उनी क्यू ग्रेडिङ गर्छन् र स्वादबाटै त्यसको गुणस्तर मापन गर्छन्। कफीको गुणस्तर मापनको विधि नेपाल भित्र्याउने पनि उनै हुन्।
कफीको गुणस्तर कसरी मापन हुन्छ तपाईंलाई थाहा छ ? कफीको गुणस्तर कसरी कायम हुन्छ भनेर कफीका पाखरीमात्र होइन, उत्पादक पनि अनभिज्ञ छन्। कुनै प्रयोगशाला वा मेसिनबाट यसको गुणस्तर जाँचिँदैन।
कफीको वासना, स्वाद, अम्लीयपन र गुलियोपन, बाक्लोपन, अर्गानिक हो होइन सबै कुरा चाखेर थाहा हुन्छ। जिब्रोको स्वादले कफीको उत्कृष्टता पत्ता लगाई ‘स्पेसियालिटी’ छनोट गरिन्छ। कफीको गुणस्तर पत्ता लगाई सर्टिफाई गर्ने यो विधिलाई क्यू ग्रेडिङ भनिन्छ।
अत्यधिक कफी उत्पादन हुने मुलुकमा क्यू ग्रेडिङ निकै प्रचलनमा छ। यो विधिबाट परीक्षण नभएको कफी ‘स्पेसियालिटी’ कफीमा छानिँदैन। चाख्ने भन्दैमा कफीको उत्कृष्टता नाप्ने, गुणस्तर मापन गर्ने र प्रमाणित गर्ने काम सजिलो भने छैन। यसरी कफी परीक्षण गर्ने काम ‘क्यू ग्रेडर’ले गर्छन्। क्यू ग्रेडरले विभिन्न चरणमा कफीको परीक्षण गरेपछि ‘स्पेसियालिटी’ कफी छान्ने काम हुन्छ। नेपालमा दुई वर्षयता यो प्रविधि भित्र्याउने व्यक्ति हुन्— डा. राजकुमार बन्जारा। अर्थात्, उनी नेपालको पहिलो क्यू ग्रेडर हुन्।
नेपालमा पछिल्लो समय कफी फेसन बनेको छ। रेस्टुराँका मेनुमा विभिन्न थरीका ‘स्पेसियालिटी कफी’ पस्किन थालिएको छ। कफी संस्कृतिको वृद्धि र बजारीकरणले क्यू ग्रेडरको आवश्यकता पनि बढेको छ। बन्जाराले क्यू ग्रेडरसम्मको यात्रा सजिलै पार भने गरेका छैनन्।
टर्निङ प्वाइन्ट
आमा उनलाई चिकित्सक बनाउन चाहन्थिन्। तर १० वर्षको नहुँदै उनले सदाका लागि छोडेर गइन्। उनीसहित चार छोराछोरीलाई बुवा राधाकृष्णले आमाको अभाव महसुस हुन दिएनन्। सन्तान स्याहारका लागि उनले अन्नपूर्ण होटेलको जागिर छोडे। र, गाउँ फर्के। बाबुसँगै काभ्रे पनौतीको बन्जारा गाउँ फर्किएका राजकुमारले घाँसदाउरा गर्दै पढाइलाई निरन्तरता दिए। पढाइ खर्च निकाल्न ८ कक्षा पढ्दा ९ र १० का विद्यार्थीलाई ट्युसन पढाएको उनी सम्झन्छन्।
दुःखले पछिसम्म छोडेन। पढाइ खर्च जोहो गर्न उनले २०४८ सालमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सारको कार्गाेमा जागिर गरे। कागज, हस्तकला र कफीको क्लियरेन्स गर्दा मासिक एक हजार पाँच सय रुपैयाँ आम्दानी हुन्थ्यो। बन्जाराको जीवनमा कार्गोको जागिर नै टर्निङ प्वाइन्ट बन्यो। त्यहाँ काम गर्दा उनले कसरी सामान आयात निर्यात हुन्छ भन्ने जानकारी पाए।
यही जागिरले बन्जारालाई लक्ष्य निर्धारण गर्न सघायो। कार्गोको काम गर्दा अन्तर्राष्ट्रिय यो फ्रेट अवार्ड अफ दी इअरबाट सम्मानित बन्जाराले तुलनात्मक लाभको विषयमा धेरै जानकारी लिन भ्याए। र, निश्चय गरे— कफी निर्यात गर्नुपर्छ।
सन् २००३ तिर कफी र चियाको विषयमा अध्ययन गर्न उनले फ्रान्स, नेदरल्यान्ड, बेल्जियम र जर्मनीमा १९ महिना बिताए। ‘सुरुमा नेपालमै बसेर पर्याप्त जानकारी लिने प्रयास गरँे’, उनी भन्छन्, ‘तर यहाँका चिया कफी उत्पादक र निर्यातकर्ताले मैले खोजेअनुसारको गहन जानकारी दिन मानेनन्। त्यही भएर युरोप पुगेको थिएँ।’ अध्ययन सकेर नेपाल आएका उनी फेरि कफीकै अध्ययनका लागि जापानको टोकियो युनिभर्सिटी गए।
२०५२ सालतिर नेपाल फर्किएर साउथ एसिएन ट्रेडर्स सञ्चालनमा ल्याए। यो कम्पनीले नेपालको चिया, कफीसँगै हस्तकलाका सामग्री निर्यात गथ्र्यो। वस्तुमात्रै पठाउने निर्यातको कामले उनलाई सन्तुष्टि दिएन। उत्पादनमै लाग्नुुपर्छ भन्ने उनको मनमा थियो। २०६५ ताका बन्जाराले ग्रिनल्यान्ड अर्गानिक फार्म सुरु गरे। यो कम्पनीमार्फत उनले काभ्रेमै सय रोपनी जग्गा खरिद गरी हिमालयन अरेबिका ब्रान्डमा कफी उत्पादन सुरु गरे।
हाल विभिन्न जिल्लाबाट अर्गानिक कफी संकलनसमेत गरेर बन्जाराले वार्षिक सवा करोड मूल्य बराबरको कफी निर्यात गर्दै आएका छन्। उत्पादन नपुगेर पनौतीमा सात रोपनी जग्गामा ग्रिन विन्सको खेती सुरु गरेका छन्।
कफीले सम्मान
सन् २०१६ र २०१७ मा संसारको सबैभन्दा उत्कृष्ट कफीको सूचीमा हिमालयन अरेबिका ब्रान्डको कफी पनि परेको थियो। पुरस्कार पनि थाप्यो यो ब्रान्डले। त्यही वर्ष नेपाल कफी महासंघ र राष्ट्रिय चिया तथा कफी विकास बोर्डले उत्कृष्ट प्रशोधक र उत्पादकका रूपमा बन्जारालाई सम्मानित पनि ग¥यो।
उनले कफीकै विषयमा प्राविधिक शिक्षा उपलब्ध गराउने उद्देश्यले विज्ञहरूसँग मिलेर नेसनल कफी एकेडमी सञ्चालनमा ल्याएका छन्। उनी आफैं अध्यक्ष छन्। यसबाहेक बन्जारा राष्ट्रिय चिया तथा कफी विकास बोर्डको सञ्चालक समितिको सदस्यका साथै नेपाल कफी प्रोड्युसर्स एसोसिएसनका सदस्यसमेत छन्।
यसबाहेक बन्जारा अहिले पनि कफीको अध्ययन, अध्यापन, कफीको खेती वृद्धि, क्यू ग्रेडिङ र गुणस्तर निर्धारण लगायतका काममा भिडेका छन्। उनका अनुसार अन्तर्राष्ट्रिय बजारमा नेपाली कफीको माग अत्यधिक भए पनि मागअनुसार उत्पादन नहुँदा बजार लिन समस्या छ। राज्यले कफीको क्षेत्रमा लगानी र पर्याप्त अनुसन्धान गर्न नसकेको उनको आरोप छ।
प्राउड टु बी अ फार्मर
पढेलेखेका छोरा कृषिमा लाग्यो भनेर पारिवारका सदस्यदेखि समाजका अगुवासम्मले छिःछिः भनेको अनुभव सुनाउँछन्। मुलुकलाई समृद्धिको बाटोमा लैजान अहोरात्र खटिइरहने किसानलाई राज्यले सबैभन्दा उपल्लो स्थानमा राख्नुपर्ने उनको सुझाव छ। ‘पढेलेखेका युवालाई यो पेसामा आकर्षित गर्न पनि किसानलाई उपल्लो स्थानमा राखेर सम्मान दिनुपर्छ। नत्र मुलुक समृद्धिको बाटोमा जान्न’, बन्जारा भन्छन्।
यतिबेला उनलाई भ्याइनभ्याइ छ। कहिले काठमाडौं, झापा, नुवाकोट त कहिले काभ्रे पुगिरहेका छन्। प्रत्येक साता उत्पादकहरूले पठाएको २० वटा कफीको नमुनालाई क्यू ग्रेडिङ गर्छन्। ‘आएको नमुनालाई निकै गहन रूपमा विभिन्न चरणमा अध्ययन गरी स्पेसियालिटी सर्टिफाइड गर्नुपर्छ’, बन्जारा भन्छन्, ‘यसबाहेक आफ्नै संस्था, कफी एकेडमी, राष्ट्रिय चिया तथा कफी विकास बोर्डलाई समय दिनुपर्छ।’
चिकित्सक बनाउने आमाको सपना पूरा गर्न नसके पनि उनले कृषि तथा समाजशास्त्रमा विद्यावारिधि गरेका छन्। यसबाहेक बन्जाराले क्यालिफोर्नियास्थित कफी क्वालिटी इन्स्टिच्युट (सीक्यूआई)बाट कफीको गुणस्तरीयताबारे क्यू गे्रडिङ र क्यू प्रोसेसिङ अध्ययन गरेका छन्।
यस्तै अमेरिकास्थित स्पेसियालिटी कफी एसोसिएसन (एससीए)बाट तयारी कफी, ग्रिन विन्सको गुणस्तर निर्धारण, रोस्टी, ब्रू र चाख्ने विषय अध्ययन गरेका छन्। अमेरिकाकै सस्टेनेबल कफी इन्स्टिच्युट (एससीआई)बाट कफीको प्रारम्भिक खेतीपाती अध्ययन गरे। सीक्यूआई, एससीए र एससीआईको अध्ययन गरे पनि यसको उपाधि कायम राखिराख्न प्रत्येक तीन वर्षमा पुनः परीक्षा उत्तीर्ण गर्नुपर्ने हुन्छ; जसमा पनि उनी लागिरहेकै हुन्छन्।
के हो क्यू ग्रेडर परीक्षण ?
क्यू ग्रेडरले कफीलाई तीन प्रकारले परीक्षण गर्छ। सुरुमा काँचो कफी (ग्रिन विन्स)को रङ पहिचान गर्ने काम गर्छन्। यो चरणबाट कफी उत्तीर्ण भएपछि दोस्रोमा रोस्टिङ (भुट्ने प्रक्रिया) परीक्षण सुरु हुन्छ।
यसरी भुट्ने क्रममा कफी नभुटिँदा त्यसलाई क्वेकर भनिन्छ। कफीभित्र चिनीको मात्रा हुन्छ। चिनी भुटिएर कालो हुन्छ। त्यसैले भुटिएको कफीको रङ कालो हुन्छ। तर कुनै कुनै कफीमा चिनीको मात्रा निकै कम हुन्छ वा हुँदैन। त्यस्तो कफी भुट्दा पनि सेतै देखिन्छ। कफी क्वेकर भेटियो भने गुणस्तरहीन ठहर्छ।
कालो रङको कफीलाई पिउने चरणमा पु¥याउने काम हुन्छ। यो चरणमा कफीलाई निश्चित आकारमा धुलो बनाउने काम हुन्छ। त्यसपछि निश्चित आकारका कप लिने काम हुन्छ। उक्त कपमा निश्चित तापक्रमको तातोपानी हालिन्छ। तातोपानी भएको कपमा निश्चित परिमाणमा धुलो पारिएको कफी हालिन्छ। यसलाई सात÷आठ मिनेटसम्म भिजाइन्छ।
यसरी पानीमा घोलिएको कफीको घोललाई क्यू ग्रेडरको उपाधि पाएका विज्ञले पिउने गर्छन्। विज्ञले कफीको घोल चाखेर त्यसमा सामान्य वासना, अनौठो वासना, विशेष प्रकारको वासना, उत्कृष्ट स्वाद, अम्लीयपन तथा गुलियोपन आदिलाई जिब्रोले छुट्याउने काम हुन्छ।
माथिका सबै चरणको प्रक्रियाका लागि कुल १०० अंक निर्धारण गरिएको हुन्छ। क्यू ग्रेडरले प्रत्येक चरणको परीक्षणपश्चात् अंक दिने काम गर्छन्। यसरी १०० मध्ये ८० वा ८० भन्दा बढी अंक प्राप्त गरेको कफीले बल्ल ‘स्पेसियालिटी’ कफीको उपाधि पाउँछ। हालसम्म विश्वभरका कफीमध्ये केहीले ९७ नम्बरसम्म प्राप्त गरेको छ। नेपालको कफीले भने ८० देखि ८४ अंकसम्म प्राप्त गरेको छ। यसरी क्यू ग्रेडरले प्रदान गर्ने सर्वोत्कृष्टता उपाधिको सहकार्यमा नेपाली कफी अन्तर्राष्ट्रिय बजारमा निर्यात गर्न सहज भएको छ।
http://annapurnapost.com/news/126437
Latest Posts
National Coffee Cupping and Quality Workshop 2018 has been held [...]
Ms. Dabuti Sherpa has brewed and served Nepali Coffee at [...]
- Published On: June 5, 2018|0 Comments on Himalayan Arabica Coffee received the ‘Best Enterprise Award”|
On the occasion of fourth Annual General Meeting of Nepal [...]
०१ बैशाख २०७५| सरिता श्रेष्ठ|नागरिक न्युज धादिङ – उत्तर फर्किएको [...]
बुधबार, २१ चैत २०७४ | दिलीप पौडेल, नागरिक न्यूज काठमाडौं – नेपाली [...]
काठमाडौं । नेपाली कफी अन्तर्राष्ट्रिय क्षेत्रमा मुलुकको इज्जत जोगाउन सफल [...]
काठमाडौँ, चैत २१ गते ।Gorkhapatraonline.com नेपाली कफीले अन्तर्राष्ट्रिय बजारमा उत्कृष्ट [...]
बुधवार, चैत्र २१, २०७४ कारोबार संवाददाता पालको प्राङ्गारिक कफीले गुणस्तर, प्रविधि [...]
MoAD okays Coffee Development Strategy The Himalayan Times / January [...]